पत्रकार महासंघले मुख्यमन्त्रीलाई बुझायो ज्ञापनपत्र
धनगढी।पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएको छ।
महासङ्घ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री शाहलाई ध्यानाकर्षणपत्र बुझाएको हो।
महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाहले मुख्यमन्त्रीलाई सो पत्र बुझाएका हुन्।
राजावादीको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको, अन्नपूर्ण पोस्ट दैनिकको भवनमा आगजनी तथा तोडफोड गरिएको, कान्तिपुर टेलिभिजन र हिमालयन टेलिभिजनमा क्षति पुर्याइनुका साथै पत्रकार दिनेश गौतममाथि आक्रमण गरी उनको खुट्टा भाँचिएकोलगायत घटनाहरू भएका थिए।
महासंघले यस्तो घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ। महासंघले एक साताभित्र माग पूरा नभए देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
साथै मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति, घाइते पत्रकारहरूको उपचार, सञ्चारगृहमा भएको क्षतिको भरपाइ तथा प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न महासङ्घले सरकारसँग माग गरेको छ।
१८ चैत २०८१, सोमवार १५:५० बजे प्रकाशित












