रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको भनिएको हिरासतको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् । उक्त विषयमा यथार्थ छानबिन गरी दोषीलाई तत्काल कारबाहीमा ल्याउन गृहमन्त्री लेखकले निर्देशन दिएका हुन् ।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।
‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकको भनाई उद्धृत गर्दै सचिवालयले भन्यो,‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।’
त्यसै गरी प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बिर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिए ।
बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेका थिए । उक्त तस्बिर आफूले खिचेको रास्वपाकै समर्थक डा निकोलस भुसालले स्वीकार गरिसकेका छन् ।
४ पुस २०८१, बिहीवार १४:३५ बजे प्रकाशित













