चौरपाटी-४ काठेखेतमा ‘एक घर, एक धारा’ जडान
अछाम । अछामको चौरपाटी गाउँपालिकामा ‘एक घर एक धारा’ अभियान अन्तर्गत गाउँपालिकाको वडा नम्बर–४ पायलको काठेखेतमा ‘एक घर, एक धारा’ निर्माण गरिएको छ ।
बुधबार एक कार्यक्रमकाबीच खानेपानी आयोजनाको नेपाली काङ्ग्रेसका नेता पूर्व जिल्ला पार्टी सभापति भरतकुमार स्वारले सो कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै नेता स्वाँरले गाउँमा श्रमदान गर्ने संस्कृति क्रमशः हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै अन्य आयोजनामा पनि अनिवार्य श्रमदानको व्यवस्था स्थानीय सरकारले गर्नुपर्ने बताए।
साथै पालिकाको यो नमुना कार्यप्रति प्रसंशा गर्दै उनले आगामी दिनमा यस्तै कामहरु गर्न निर्देशन दिनुभयो । काठेखेतमा २७ घरमा धारा जडान गरिएका छन् ।
कार्यक्रमका विशिस्ट अतिथि चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदले आफूले जनता माझ चुनावको बेला गरेका बाचाहरु क्रमिक रुपमा पूरा गरिरहेको बताए । कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले बाँकी रहेका पालिका भित्रका अन्य बस्तीमा पनि चाँडै धारा जडान हुने बताए । उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै काठेखेत बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको बताए। उनले काठेखेतमा खानेपानी योजना सम्पन्न भएपछि पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए ।
गाउँपालिका, स्थानीय उपभोक्ताको साझेदारीमा खानेपानी आयोजना सम्पन्न भएको हो । गाउँपालिकाको ८० प्रतिशत र स्थानीयवासीको २० प्रतिशत श्रमदानबाट आयोजना सम्पन्न भएको हो ।
काठेखेत बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाउँदै अध्यक्ष साउँदले समुदायको उत्थानका निम्ती सक्दो सहयोग गरिरहेको बताए ।
यहाँ ४० घरपरिवारसँगै समुदाय र विद्यालयमा पनि एक/एक वटा धारा जडान गरिएको छ । करिब ३ किलोमिटर टाढा रहेको मुहानबाट ल्याइएको पानीको ट्याङ्कीबाट सोह्र घरपरिवारलाई लिफ्ट प्रविधिबाट पानी पुर्याइएको छ ।
गाउँपालिकाका अन्य ठाउँमा पनि खानेपानीको योजना निर्माणको काम अन्तिम चरणमा रहेको गाउँपालिका अध्यक्ष साउँदले बताए ।
कार्यक्रममा वडाध्यक्ष लालबहादुर धामी लगायतको सहभागिता रहेको थियो ।
६ असार २०८१, बिहीवार २२:२७ बजे प्रकाशित













