अछाममा छाउगोठमा किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

अछाम । अछाममा छाउगोठ बसेकी एक किशोरी बलात्कृत भएकी छिन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीमाथि सोमबार राति सामूहिक बलात्कार भएको हो ।

किशोरी बलात्कारको आरोपमा उनकै नातेदार पर्ने स्थानीय १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार किशोरी छाउगोठमा मङ्गलवार बिहान अचेत अवस्थामा भेटिएकी थिइन् । उनलाई अचेत अवस्थामा देखेपछि मङ्गलवार बिहान स्थानीय एक जना किशोरीले प्रहरीलाई खबर गरेकी थिइन् ।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने लगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो ।

अस्पतालमा उपचार पश्चात होशमा आएकी ती किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको प्रहरीलाई भनेकी थिइन् । उनले स्थानीय १७ वर्षीय किशोरलगायत ३÷४ जनाले सामुहिक बलात्कार गरेको बताएकी थिइन् ।

आँखा र घाँटीमा कपडाले बाँधेकाले अन्य व्यक्तिलाई आफूले चिन्न नसकेको पीडित किशोरीको भनाइ छ ।


५ असार २०८१, बुधवार ०९:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु