खोटेसल्लाले मुहान सुकेपछि काफल रोप्ने तयारी, खनिए चार हजार खाडल
बैतडी । खोटेसल्लाको वनले पानीका मुहान सुकाएपछि बैतडीको मेलौलीमा काफलका बिरुवा रोप्ने तयारी भएको छ ।
काफल रोप्न चार हजार खाडल खनिएका छन् । काफलको रुख बाह्रै महिना हरियो हुने गर्छ । यो प्रजातिले पानी सञ्चित गर्ने भएको र काफलको फल बेचेर आम्दानीसमेत गर्न सकिने भएकाले यस्तो प्रजाति रोप्ने तयारी गरिएको हो ।
खोटेसल्लाका कारण पानीका मुहान सुकेपछि तल्लो स्वराड क्षेत्रको मेलौली नगरपालिका–९, विशालपुरका सामुदायिक वनमा काफल रोप्न चार हजार खाडल तयार पारिएको वडाध्यक्ष लोकराज भट्टले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ९५ जना महिलाले खाडल तयार पारेको उनले बताए। उनले सल्लाका वनमा बर्सेनि आगलागी हुँदा अन्य हरियाली बिरुवा नाश भएपछि काफल रोप्न खाडल खनिएको बताए।
स्थानीय असुर–मौजा सामुदायिक वनको टिकको लेकमा खाडल तयार पारिएको सामुदायिक वनका अध्यक्ष महेन्द्र भट्टले बताए । सल्लाको रुख एकैचोटि विस्थापित गर्न गाह्रो हुने भएकाले हरेक वर्ष चार हजार खाडल खनेर पानी सञ्चित गर्ने बिरुवा रोप्ने लक्ष्य राखिएको सामुदायिक वन उपभोक्ता समितिका सचिव रामदत्त भट्टले बताए ।
सल्लाको वनका कारण तल्लो स्वराड क्षेत्रको पाटन, मेलौली नगरपालिका, शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिका–१ का अधिकांश पानीका मुहान सुक्दै गएका छन् । सल्लाको रुखले पानी सञ्चित गर्न नसक्ने भएकाले विकल्पमा अन्य बिरुवा रोप्नुपर्ने डिभिजन वन कार्यालय बैतडीका अधिकृत दिलीपकुमार यादवले बताए ।
खोटेसल्लाको वन क्षेत्र भएको शिवनाथ गाउँपालिकामा पानीका सबै मुहान सुकेपछि महाकाली नदीबाट पानी लिफ्ट गर्न ४४ करोड रुपियाँको गुरुयोजना तयार भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । सामुदायिक वनका पदाधिकारीले यस्तो कार्यक्रम ल्याए गाउँपालिकाले सक्दो सहयोग गर्ने उनले बताए । गोरखापत्रबाट
४ असार २०८१, मंगलवार ०९:०५ बजे प्रकाशित













