सेती नदीमा एक पुरुष मृत भेटिए
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका बेला बेपत्ता भएका तनहुँका १९ वर्षीय संगम मिश्र सेती नदीमा मृत फेला परेका छन्। पोखरा महानगरपालिकामा सेती नदीको बाँध खोलेर खोजी गर्दा नदीपुरस्थित सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा उनको शव फेला परेको हो ।
उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तनहुँका मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएका बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएका थिए ।
खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिर खोजी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए।
२९ मंसिर २०८०, शुक्रवार ११:११ बजे प्रकाशित













