सवारी कर्जा प्रवाह गर्ने कम्पनीहरूलाई नीतिगत कडाइ
काठमाडौँ । राष्ट्र बैंकले सवारी कर्जा प्रवाह गर्ने कम्पनीहरूलाई नीतिगत कडाइ गरेको छ । अब हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीले आफ्नो नामको पछाडि हायर पर्चेज प्राइभेट लिमिटेड वा लिमिटेड अनिवार्य राख्नुपर्ने भएको हो ।
बैंक तथा वित्तीय संस्थाबाहेक हालसम्म राष्ट्र बैंकबाट हायर पर्चेजसम्बन्धी व्यवसायका लागि अनुमति लिएर १० वटा कम्पनीले काम गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकले सवारी कर्जा प्रवाह गर्ने कम्पनीहरूलाई नीतिगत कडाइ गर्दै नयाँ व्यवस्था गरेको हो । हायर पर्चेजसम्बन्धी व्यवसाय गर्ने कम्पनीमध्ये चार वटाले मात्रै हायर पर्चेज प्रालि राखेर सवारी कर्जा दिएका छन् । बाँकी छ वटा कम्पनीले इन्भेस्टमेन्ट कम्पनी भनेर नाम दर्ता गरी सवारी कर्जा दिइरहेका छन् ।
राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन २०८०)’ जारी गरी उल्लेखित व्यवस्था गरेको हो ।
इन्भेस्टमेन्ट कम्पनीको नाममा सवारी कर्जाको व्यवसाय गर्ने यी कम्पनीलाई राष्ट्र बैङ्कले २०८० पुस मसान्तभित्रै दिइएको निर्देशनबमोजिम नाम परिवर्तन गरी राष्ट्र बैंकमा जानकारी गराउन निर्देशन दिएको छ । निर्देशनबमोजिम नगर्ने कम्पनीहरूले सवारी कर्जासम्बन्धी व्यवसाय गर्न बन्देज लगाउने राष्ट्र बैंकले जनाएको छ ।
१३ मंसिर २०८०, बुधवार ०७:५३ बजे प्रकाशित












