सरकार गठनको गाँठो फुकाउन सत्ता गठबन्धनको बैठक जारी 

कैलाली । सरकार गठनको गाँठो फुकाउन सुदूरपश्चिममा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा अहिले कांग्रेस माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बसेको हो ।
आज सुदूरपश्चिम प्रदेशमा सरकार बिस्तार गर्ने मुख्यमन्त्री कमल बहादुर शाहले तयारी गरेका छन् । अहिले सम्म मन्त्रीहरूको नाम टुङ्गो लागिसके पनि मन्त्रालयको भागबन्डा भने मिल्न सकेको छैन।
सुदूरपश्चिममा अहिले चार मन्त्रालयमा मन्त्री विहीन छन् । माओवादीले र नागरिक उन्मुक्तिले २÷२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरिरहेको छ । चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न सकेको छैन ।
माओवादी केन्द्रले पाउने २ मन्त्रीमा सहमति भइसकेको छ । रमेश धामी र झपट साउद मन्त्री बन्ने पक्का छ । नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय भइसकेको छ । नेपाली कांग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने सम्भावना बढि रहेको छ । संसदीय दलले भने यस बिषयमा अहिले सम्म कुनै निर्णय गरेको छैन ।
अहिले मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मन्त्रालयमा सहमति जुटाउने र आजै शपथ ग्रहण गर्ने तयारी भइरहेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

५ जेठ २०८०, शुक्रवार १७:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु