तनहुँमा चितुवाले लियो एक बालकको ज्यान
तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । व्यास नगरपालिका–१२ छिर्कनका जगदीश कुँवरका ८ वर्षीय छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
हिजो साँझ हजुरआमासँगै गोठमा गएका अभिनमलाई चितुवाले गोठको ढोकाबाट तानेर एक सय मिटर तल पुर्याएको थियो । मानिसको हल्लीखल्लीपछि चितुवाले अभिनमलाई छाडेर भागेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।
चितुवाको आक्रमणबाट बालकको तत्काल मृत्यु भएको हो । प्रहरी र वनका कर्मचारीलगायतको टोली घटनास्थल पुगेर मुचुल्का उठाइ शव पोष्टमार्टमका निम्ति दमौली अस्पताल लगिएको छ ।
यसअघि पनि तनहुँमा चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान गइसकेको छ ।
१६ कात्तिक २०७९, बुधवार ११:०४ बजे प्रकाशित












