अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा जटिलता थपियो
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न माग राख्दै २० औं अनसनमा रहेका वरिष्ठ डा. गोविन्द केसीको स्वास्थ्यमा थप समस्या देखिएको छ ।
धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनसनरत डा. केसीको स्वास्थ्य बिग्रिएपछि मंगलबार उनलाई धनगढीस्थीत सेती प्रादेशिक अस्पातल भर्ना गरिएको थियो । तर उनलाई अस्पतालमा राखिएपनि स्वास्थ्यमा सुधार आएको छैन् ।
अस्पतालले आज विज्ञप्ति निकाल्दै डा केसीमा टाउको दुख्ने रिङ्गटा लाग्ने, थकान लाग्ने, स्वास फेर्न गा¥हो हुने, शरीरको मासपेशी दुख्नेलगायतका समस्या देखिएको जनाएको छ । अस्पातलका अनुसार शरीर र पोषण तत्व र पानीको कमी भएको कारण केसीमा यस किसिमको समस्या देखिएको हो ।
डा. केसीमा बेहोस हुन सक्ने, कम्पन हुन सक्ने, मुटुको धड्कन तथा रक्तचाप असन्तुलन भई शरीरका अन्य अंगमा समेत थप सम्भावित जटिलता देखा पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । उनलाई अहिले अस्पतालको आइसीयुमा सारिएको छ ।

३१ भदौ २०७९, शुक्रवार १५:४० बजे प्रकाशित












