कैलाली उद्योग वाणिज्य संघको टोलीद्वारा काठमाडौं र सिन्धुपाल्चोकका उद्योगी व्यवसायीसंग भेटघाट
कैलाली उद्योग वाणिज्य संघको टोलीले सोमबार काठमाडौं र सिन्धुपाल्चोका उद्योगी व्यसायीसंग भेटघाट तथा छलफल गरेको छ । संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको भ्रमण टोलीले नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पदाधिकारीसहित उद्योगी व्यवसायीसंग भेटघाट तथा छलफल गरेको हो ।
टोलीले सोमबार बिहान दुई जिल्लाका उद्योगी व्यवसायीसंग संयुक्त रूपमा भेटघाट तथा छलफल गरेको हो । छलफलका क्रममा जिल्लाका उद्योग वाणिज्य संघले कैलाली उद्योग वाणिज्य संघसंग भाइचाराको सम्बन्ध कायम गरेर अगाडि बढने बताएका छन् । खुला सीमानाकाको समस्यालाई सम्बोधन गर्नका लागि सरकारलाई पहल गरिरहेको व्यवसायीहरूको भनाइ छ ।
उद्योग वाणिज्य संघ र जिल्लालाई सशक्त बनाउनका लागि एकजुट हुनुपर्ने वयवसायीहरूले बताएका छन् । सबै जिल्ला उद्योग वाणिज्य संघहरू एक भएर अगाडि बढनुपर्नेमा उनीहरूको जोड छ।
भेटघाटका क्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले देशमा रहेका उद्योग वाणिज्य संघहरू संचालनको अवस्था बुझ्न र भेटघाट गर्ने भ्रमणको उद्देश्य रहेको बताए ।
उनले दुईवटै उद्योग वाणिज्य संघलाई सुदूरपश्चिम भ्रमणको निम्तोसमेत दिएका छन्। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरको नेतृत्वमा ११ सदस्यीय टोली देशका विभिन्न जिल्लाको भ्रमण अवलोकनमा निस्केको छ ।
१३ भदौ २०७९, सोमवार ११:०३ बजे प्रकाशित












