टी–२० अन्तर्राष्ट्रिय क्रिकेट: केन्याविरुद्ध नेपाल चार विकेटले विजयी

नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेलमा जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले पराजित गरेको हो ।

नैरोबीमा १५७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित ओभर सकिन तीन बल बाँकी छँदा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि अर्जुन साउद र पवन सर्राफले पहिलो विकेटका लागि ३५ रनको साँझेदारी गरे । पहिलो विकेटको रूपमा पवनले १२ बलमा २० रन बनाएर आउट भए ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका अर्जुनले परिपक्व ब्याटरको रूपमा आफूलाई प्रस्तुत गरे । आफ्नो डेब्यु खेलमा नै महत्त्वपूर्ण ३५ रन बनाए । उनले ३१ बलमा तीन छक्का र दुई चौका प्रहार गरे । त्यसपछि मध्य क्रममा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल र रोहित कुमार पौडेलले नेपाली टिमको पारी सम्हाल्दै जिततर्फ लगे । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । त्यस्तै, रोहितकुमार पौडेलले २९ रन बनाउँदा आदिल आलमले १६ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १५६ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएको हो । केन्याका लागि राकेप पटेल र इर्फान करिमले उत्कृष्ट पारी खेले । यी दुई खेलाडीको उत्कृष्ट प्रदर्शनमा केन्याले सम्मानजनक स्कोर बनाएको हो ।

पटेलले ४३ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अविजित ७३ रन बनाए । त्यस्तै, इर्फान करिमले अविजित ५५ र कोलिन्स ओबुयाले १४ रन बनाए । नेपालका लागि सोमपाल कामी र आदिल आलमले समान १–१ विकेट लिए ।


१२ भदौ २०७९, आइतवार १९:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु