धनगढीमा अटो रिक्सा चालक आन्दोलित
धनगढीमा विद्युतीय अटो रिक्सा चालक आन्दोलित भएका छन् । ट्राफिक प्रहरीले बिल बुक र लाइसेन्स नभएका अटो चालकलाई धमाधम फाइन तिराइरहेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका छन् ।
यातायात व्यवस्था कार्यालयले विद्युतीय रिक्सा चालक अनुमति पत्रको आवेदन पत्रको परीक्षा नखोलेको अवस्थामा प्रहरीले दैनिक जरिमाना काट्न थालेपछि आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन् । धनगढी उपमहानगरपालिका कार्यालय परिसरदेखि पार्क मोड सम्म रिक्साहरू रोकेर उनीहरूले प्रहरीविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

तीन वर्ष देखि धनगढीमै अटो चलाइरहेका सुशील क्षेत्रीलाई बिहान मात्रै फाइन तिर्नुपरेपछि आन्दोलनमा उत्रिएको बताए । ‘लाइसेन्सको फम नखुलेका कारण ढिलो भएको हो, एउटै ब्याक्तिलाई दिनमा २ पटक सम्म फाइन काट्नुपर्ने बाध्यता छ ,’ उनले भने ।
आवेदन नै नखोलेका कारण आफूहरू मर्कामा परेको धनगढीमै अटो चलाउँदै आएका गौरव ऐयडीले बताए । ‘ट्राफिकले मनलाग्दी रूपमा दैनिक ५ सय देखि १५ सय सम्म जरिवाना कटाउँदै आइरहेका छन्, दैनिक मजदुरी खानेलाई प्रहरीले दुःख दिइरहेको छ,’उनले भने ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले प्रहरीको काम नै लाइसेन्स र बिल बुक नभएका लाई रोक्नु रहेको बताएका छन् । ‘बिल बुक र लाइसेन्स भएन भने चालक आफैँ पनि सुरक्षित छैन बिना लाइसेन्स चलाउनेलाई बिमाको पनि सुरक्षा हुँदैन त्यस्तालाई हामीले रोकी रहेका छौ,’उनले भने ।

लाइसेन्स नभएकालाई बारम्बार प्रक्रियामा जानु भन्दा पनि नगएकालाई फाइन तिराइरहेको उनले बताए । ट्राफिक प्रहरीले बिना कारण कसैलाई दुः ख नदिएको उनको भनाई छ । अटो रिक्सा चालक र धनगढी उपमहानगरबिच अहिले छलफल भइरहेको छ ।
१५ साउन २०७९, आइतवार १३:३४ बजे प्रकाशित












