धनगढीमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सञ्चालनमा

कैलालीको धनगढी उपमहानगरपालिकामा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा शुरु गरिएको छ । धनगढीको वडा नम्बर १९ मा आइतबार एक कार्यक्रम आयोजना गदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका पहाडी जिल्लाहरू र तराईका केही दुर्गम ठाउँहरूमा ७० वर्ष भन्दा माथिका वृद्ध वृद्धाहरूको घरमै गएर उपचार गर्ने कार्यक्रम सञ्चालनमा रहेको र अब प्रदेश सरकारले यसलाई विस्तार गर्ने योजना रहेको बताए ।

सबै स्थानिय तहहरूले यस्ता किसिमका कार्यक्रम गरे पालिकाहरू सँग सरकार सहकार्य गर्न तयार रहेको उनले बताए । सबै जिल्लाहरूमा विगतमा एम्बुलेन्सको व्यवस्था गरेको र अब जिल्लामा मात्रै नभएर स्थांनिय तहहरूमा पनि एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने प्रदेश सरकारको नीति रहेको उनले स्पष्ट पारे । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य नेपालु चौधरीले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रमले गरिव जनतालाई सेवा दिन सक्नुपर्ने धारण राखे ।

फरक प्रसगंमा उनले धनगढीको छाडा पशु, चौपायाको समस्या समाधान धनगढी उप महानगरपालिका, प्रदेश सरकार कुनै पनि निकायले गर्न नसक्ने दाबी गरे । उनले थपे ‘जब सम्म जनताले आफ्नो पशुको आफैले संरक्षण गर्दैनन् तब सम्म समस्या समाधान हुँदैन ।’

गाईको दूध मात्र नखाई, संरक्षण गरेर राख्न पनि उनले उप महानगरवासीलाई आग्रह गरे । विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रम आइतबार देखि धनगढीको फूलबारी स्वास्थ्य चौकीबाट सुरु भएको छ ।

धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमालले धनगढीका सबै वडाहरूमा विशेषज्ञ सेवा सञ्चालन गर्न कम्तीमा २५ वर्ष सम्म लाग्ने भएकोले पालिकाले सो सेवाको सुरुवात गरेको बताए । उनले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकलाई आमा बचाउ अभियानको रूपमा पनि लिएको बताए । वडा स्वास्थ्य क्लिनिकमा ओपिडी, अल्ट्रासाउन्ड, ई सिजी र रगत चेकजाँच सेवा उपलब्ध हुने उनले बताए ।

पालिकाका सबै वडाहरूमा एम्बुलेन्सको व्यवस्थाको लागि पहल गरिरहेको र यसको लागि सुदूरपश्चिम प्रदेश सरकालाई सहयोग गर्न उनले आग्रह गरे । धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले वडा स्वास्थ्य क्लिनिक कार्यक्रम पालिकाका १९ ओटै वडामा सञ्चालन गरिने बताइन् ।

औषधि खानु भन्दा पहिला चेकजाँचको आवश्यकता हुने तर गरिबिको रेखा मुनी रहेका जनताले चेकजाँच गर्न पैसा तिर्न नसक्ने भएकोले मलाई के रोग लागेको छ भनेर थाहा पाउन यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने र रोग पत्ता लागे उपचार गर्न सकिने उनले जानकारी दिइन् ।

आफूलाई के रोग लागेको छ भनेर थाहा नपाउँदा ग्रामीण भू भागमा कयौँ जनताले अकालमै मृत्यु वरण गर्नु परिरहेको घटना धेरै छन् उनले भनिन् ।

 


१ साउन २०७९, आइतवार १७:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु