घोडाघोडी नगरपालिकामा हतियारसहित प्रवेश गरेका तीन जना पक्राउ
कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालयमा हतियारसहित प्रवेश गरेका तीन जना पक्राउ परेका छन् ।
नगरपालिकाको वडा नम्बर २ साँढेपानीका ३६ वर्षीय वीरबहादुर बोहरा, २८ वर्षीय भूपेन्द्र रावल र २६ वर्षीय रामप्रसाद चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू बुधबार नगरपालिकाको कार्यालयमा घरेलु हतियारसहित प्रवेश गरेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखडको टोलीले पक्राउ गरेको हो ।
उनीहरू रिफ्रेस सेन्टर निमार्णको भुक्तानीको माग गर्दै नगरपालिकाको कार्यालयभित्र हतियारसहित प्रवेश गरेको प्रहरीले बताएको छ। पुरानो योजनाको भुक्तानी नदिएकाले कर्मचारीलाई काटिदिन्छु भन्दै उनीहरू नगरपालिकाको कार्यालय प्रवेश गरेका थिए ।
तीनै जना मासु काट्ने हतियार र छुरासहित नगरपालिकाको कार्यालय प्रवेश गरेपछि कर्मचारीको भागाभाग मच्चिएको थियो । इलाका प्रहरी कार्यालयको टोलीले उनीहरूलाई मोटरसाइकलमा भाग्दै गर्दा पक्राउ गरेको हो ।
२३ असार २०७९, बिहीवार १०:३० बजे प्रकाशित












