देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

देशका अधिकांश स्थानमा वर्षा हुने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज बिहान ६ बजे मौसम बुलेटिन जारी गर्दै महाशाखाले केही स्थानमा हल्का तथा मध्यम र केहीमा भारी वर्षाा हुन सक्ने आकलन गरेको छ ।

विशेष गरी प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भू(भागमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने जारी सूचनामा उल्लेख छ ।

अहिले बिहान पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । महाशाखाका अनुसार प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जानएको छ ।

हाल प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ ।


१० असार २०७९, शुक्रवार ०६:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु