बैतडीबाट हराएकी युवती त्रिनगर नाकामा भेटिइन्
बैतडीको सिगास गाउँपालिका-८ की १८ वर्षीया सरस्वती बोहरा फेला परेकी छिन्। उनलाई कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको प्रहरीले बताएको छ।
घरबाट रोपाईँ जान्छु भनि हिँडेकी उनी शनिबारदेखि हराएकी थिइन्। भारततर्फ जान लागेकी उनलाई विभिन्न संघसंस्थाको पहलमा उद्धार गरी प्रहरीलाई बुझाइएको थियो। प्रहरीका अनुसार सरस्वतीलाई उनका श्रीमान रमेश बोहराको जिम्मा लगाइसकेको छ।
सरस्वती भारत जान लागेको कारण भने खुल्न नसकेको जनाइएको छ। रमेश र सरस्वतीले गएको चैतमा भागी विवाह गरेका थिए।
७ असार २०७९, मंगलवार १७:०४ बजे प्रकाशित












