५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप लगाइने
सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई पहिलो चरण अन्तर्गत कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई फाइजर खोप लगाइने भएको हो । खोप यहि असार ९ देखि १५ गतेसम्म बालबालिकालाई लगाइने भएको हो ।
कैलालीमा जम्मा एक लाख ४३ हजार ९३४ जना बालबालिकालाई खोप लगाइने जनाइएको छ । मोहन्याल गाउँपालिकामा चार हजार ४४०, चुरे गाउँपालिकामा तीन हजार ९८०, गोदावरी नगरपालिकामा १६ हजार ५६९, घोडाघोडी नगरपालिकामा १४ हजार ४६४ जना बालबालिकालाई फाइजर खोप लगाइने जनाइएको छ ।
यसैगरी, गौरीगङ्गा नगरपालिकामा १० हजार ५००, बर्दगोरिया गाउँपालिकामा पाँच हजार ६५४, लम्कीचुहा नगरपालिकामा २२ हजार ४९, जानक गाउँपालिकामा पाँच हजार ११०, जोशीपुरमा चार हजार ६९९ बालबालिकालाई खोप लगाइने जनाइएको छ ।
यस्तै, टीकापुर नगरपालिकामा १३ हजार ७२६, भजनी नगरपालिकामा सात हजार ११८, कैलारी गाउँपालिकामा चार हजार ८३७ र धनगढी उपमहानगरपालिकामा ३० हजार ७७८ जना बालबालिकालाई फाइजर खोप लगाइने छ ।
असार ९ गतेदेखि बालबालिकालाईहरुलाई विद्यालयमै कोरोनाविरुद्धको खोप प्रदान गरिने सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । असार १५ गतेसम्म बालबालिकालाई फाइजर खोप लगाइने जनाइएको छ । ‘सो उमेर समूहका विद्यालय नजाने बालबालिका पनि छन्’, सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले भने । ‘तिनीहरु र छुटफुट अरुलाई मध्यनजर गरेर अन्तिम दिन स्वास्थ्य संस्थामा खोप लगाउने कार्य हुनेछ ।’
यो खोप सुरक्षित रहेकाले आ–आफ्ना बालबालिकालाई खोप लगाउन दिन मन्त्रालयले आग्रह गरेको छ । फाइजर खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन स्वीकृति दिएको फाइजर खोप बायाँ पाखुराको मासुमा लगाइन्छ । नेपालमा यसअघि फाइजरकै खोप १२ वर्षभन्दामाथिका बालबालिकालाई लगाइ सकिएको छ । ‘फाइजर खोप सुरक्षित रहनुका साथै यसको प्रभावकारिता पनि बढी रहेका कारण सबैलाई ढुक्कसाथ कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्दछु’, खड्काले भने । यो खोप बालबालिकालाई दुई मात्रा लगाउनु पर्ने जनाइएको छ ।
गम्भीर बिरामी, उच्च ज्वरो भएका, दीर्घ रोगी लगायतकाले भने यो खोप लगाउन नमिल्ने जनाइएको छ । खोप लगाइसकेपछि कसैकसैलाई टाउको दुख्ने, आलस्य लाग्ने, जाडो हुने जस्ता समस्या देखिने गरेको पनि बताइएको छ ।
५ असार २०७९, आइतवार २०:२७ बजे प्रकाशित












