डोटी अस्पतालमा अक्सिजन प्लान्ट

जिल्ला अस्पताल डोटीमा जडित अक्सिजन प्लान्ट सोमबार उद्घाटन गरिएको छ । सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।

कोरोनाको दोस्रो चरणमा अक्सिजन अभाव भएपछि सरकारले अस्पतालमै प्लान्ट जडान गर्ने प्रतिबद्धता गरेको थियो । संघीय सरकारले प्लान्ट जडानमा ८० लाख बजेट विनियोजन गरेकोमा टेन्डर प्रक्रियाबाट ३२ लाखमा सदर भएको थियो ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। निराजन श्रेष्ठले अक्सिजन प्लान्टले बिरामीको उपचारमा सहज हुनुका साथै महामारी तथा प्रकोपहरूमा जुध्न सहज हुने बताए । ‘बिरामीहरूको बेडसम्म अक्सिजन जडान हुने हुँदा उपचारमा सहज हुन्छ,’ डा.श्रेष्ठले भने, ‘हाल जडान भएको प्लान्टको दैनिक १० सिलिन्डरमा अक्सिजन भर्न सक्ने क्षमता छ ।’

अक्सिजन प्लान्ट उद्घाटनमा राज्यमन्त्री रैकाले अस्पतालको गुणस्तरीय सेवा वृद्धिका लागि प्रदेश सरकार स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिइरहेको बताए । ‘डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडानले सेवा प्रभावकारी हुने विश्वास छ,’ राज्यमन्त्री रैकाले भने, ‘प्रदेश सरकारले एम्बुलेन्स र शव बाहन यसै आर्थिक वर्षभित्र उपलब्ध गराउने निर्णय गरिसकेको छ ।’

अस्पताल स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले अस्पताललाई भौतिक पूर्वाधार तथा जनशक्ति सम्पन्न बनाउन पहल भइरहेको बताए ।


३१ जेठ २०७९, मंगलवार ०८:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु