देउवाको फोनपछि गठबन्धनमा खुले कांग्रेसका बागी चौधरी
गठबन्धनका उम्मेदवारलाई हराएर कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राजसमझ चौधरी आज हुन लागेको जिल्ला समन्वय समिति निर्वाचनमा सत्ता गठबन्धनतिरै उभिने भएका छन् ।
कैलाली जिसस नेतृत्वका लागि कांग्रेस(माओवादी(नेकपा एसको गठबन्धन छ । वैशाख ३० गते सम्पन्न निर्वाचनमा कैलारी गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो । कांग्रेसबाटै बागी उम्मेदवार बनेपछि राजसमझलाई कारबाही गरिएको थियो ।
राजसमझले १० हजार ४ सय ९२ मत ल्याएर विजयी हुँदा गठबन्धनका उम्मेदवार लाजुराम ६ हजार ४ सय ३० मतमा रोकिएका थिए । आफूलाई कारबाही गरेको भन्दै जिल्ला समन्वय समितिको निर्वाचनमा तटस्थ बस्ने घोषणा गरेका राज समझले अन्ततः गठबन्धनकै उम्मेदवारलाई मत दिने भएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले फोन गरेपछि उनी गठबन्धनलाई मत दिन तयार भएका हुन् । आफूमाथिको कारबाही फुकुवा नभएसम्म आफूले गठबन्धनका उम्मेदवारलाई मत दिन नसक्ने बताउँदै आएका थिए ।
आइतबार साँझ स्वकीय सचिव भानु देउवा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवाले राज समझसँग संवाद गरेका थिए । करिब पाँच मिनेटसम्म दुईजनाबीच संवाद भएको बताइएको छ । यो क्रममा देउवाले राजसमझलाई कांग्रेसको उम्मेदवार भएको बताए । देउवाले जिल्ला समन्वय समितिमा गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन पनि आग्रह गरेका थिए ।
पार्टी सभापति समेत रहेका प्रधानमन्त्रीबाटै फोन आएपछि गठबन्धनमा मत दिने निर्णयमा पुगेको उनले बताए ।
३० जेठ २०७९, सोमवार ०८:२१ बजे प्रकाशित











