जिल्ला समन्वय समिति कैलालीको मतदान सुरु
जिल्ला समन्वय समिति कैलालीको मतदान सुरु भएको छ । सोमबार बिहान साढे ७ बजेदेखि मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पहिलो भोट गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले खसालेका छन् । जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनमा आबद्ध दलबीच तालमेल भएको छ भने एमाले र नागरिक उन्मुक्ति पार्टीले छुट्टै तालमेल गरेका छन् ।
समितिको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरीको उमेदवारी रहेको छ । कैलालीमा १३ पालिकाका २६ जना मतदाता छन् । तर, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि मतदाता संख्या २५ मा झरेको छ ।
२५ जनामध्ये सत्ता गठबन्धनका १२ जना छन् । नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले तालमेल गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका ७ र एमालेका ५ मतदाता रहेका छन् । धनगढी उपमहानगरपालिकाका स्वतन्त्र जितेका मेयर गोपाल हमाल रहेका छन् ।
३० जेठ २०७९, सोमवार ०८:५१ बजे प्रकाशित












