भ्रष्टाचार मुद्दामा जोडिएका वडाध्यक्ष पालिका अध्यक्षमा निर्वाचित, तर रोकियो शपथ

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायको पद तथा गोपनीयताको शपथ रोकिएको छ। उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेकाले अहिले सपथ रोकिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए।

‘निर्वाचन आयुक्तले सपथ रोक्नुहोस्, केही दिनमा हामी एउटा निकासा दिन्छौँ भनेर भन्नु भएको छ,’ उनले नेपालखबरसँग भने, ‘त्यसैले उहाँ (उपाध्याय)लाई पद तथा गोपनीयताको सपथ खुवाएका छैनौँ।’ उनका अनुसार अन्तिम मतपरिणाम सार्वजनिक भएका गोदावरी नगरपालिका, चुरे, कैलारी र बर्दगोरियाका नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ।

माओवादीका उपाध्याय एमालेका धरमबहादुर थापालाई पराजित गदै मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। उपाध्यायले ३ हजार १३४ मत ल्याए भने उनीका प्रतिस्पर्धी एमालेका थापाले २ हजार ७१५ मत मात्रै ल्याए।

अवैध रुपमा नदीजन्य वस्तु ढुङ्गा, बालुवा उत्खनन गरेर सरकारी राजश्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्ष दिवंगत नवलसिंह रावलसहितका १४ जनप्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

जसमा तत्कालीन वडाध्यक्ष तथा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेर मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उपाध्याय पनि आरोपित थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २ गते उक्त मुद्दाको अनुसन्धान सकेर विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।


६ जेठ २०७९, शुक्रवार १४:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु