ओलीले हिरो पल्टेको भनेपछि रावलले दिए यस्तो जवाफ
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको विरोधमा बोलेर हिरो पल्टेको आरोप लगाएपछि नेता नेता भीम रावलले जवाफ फर्काएका छन् । मंगलबार पत्रकार सम्मेलनका क्रममा अध्यक्ष ओलीले पार्टी निर्णयभन्दा बाहिर गएर रावलले हिरो पल्टिन खोजेको टिप्पणी गरेका थिए ।
एमसीसी अनुमोदन भएको संसद् बैठकमा एमालेले नाराबाजी गरिरहँदा रावलले छलफलमा भाग लिएर आफ्ना भनाइ राखेका थिए । यसप्रति आपत्ति जनाउँदै ओलीले पार्टी निर्णयभन्दा बाहिर गएर रावलले हिरो बन्न खोजेको टिप्पणी गरेका थिए ।
ओलीकाे उक्त टिप्पणीकाे जवाफ बुधबार सामाजिक सञ्जालबाट दिँदै रावलले भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरूप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैँ देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुसी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।’
१८ फागुन २०७८, बुधवार १३:०२ बजे प्रकाशित













