बझाङमा कैदीबन्दी भेटघाट बन्द

जिल्ला कारागार बझाङका कैदीबन्दी भेटघाट बन्द गरिएको छ।भेटघाटको क्रममा कैदीबन्दीलाई कोरोना सर्न सक्ने भन्दै प्रशासनले रोक लगाएको बताएको छ। कोरोनाको पहिलो लहरमा सबै दुईजना कैदीबन्दी संक्रमित भएका थिए।

भेटघाटका क्रममा कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने जोखिम उच्च रहेकाले अर्को सुचना जारी नभएसम्मको लागि तत्काललाई भेटघाट बन्द गरिएको बझाङ कारागार प्रमुख धन बहादुर घर्तीले बताए।

नयाँ भेरियन्ट पहिलेको भन्दा जटिल भएकाले भेटघाटमा प्रतिबन्ध लगाउँदै आफन्तलाई गेटबाट फर्काउने गरेको उनको भनाइ छ। जिल्ला अदालत बझाङले सजाय वा पुर्पक्षमा पठाउने कैदीबन्दीलाई कोरोना परीक्षण अनिवार्य गरिएको जनाएको छ।

झन्डै तीन गुणा बढी कैदीबन्दी

जिल्ला कारागार बझाङमा अहिले ७९ जना कैदीबन्दी छन्। २५ जना राख्न सक्ने क्षमता रहे पनि झन्डै तिन गुणा बढी कैदीबन्दी राखिएको छ। पुरुष ७५ जना रहेको कारागारमा महिलाहरू बस्नको लागि भने भवन नभएकाले अन्य जिल्ला पठाउने गरेको घर्तीले बताए।

कारागारमा रहेका कैदीबन्दीमध्ये ७९ जनाले पहिलो चरणको, कोरोनाविरुद्धको दोस्रो चरणको खोप ५९ जनाले र ४७ जनाले तेस्रो चरणको खोप लगाइसकेको जिल्ला कारागार बझाङमा कार्यरत अहेव अनिल नेपालीले बताए।


१३ माघ २०७८, बिहीवार ०९:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु