टीकापुर विमानस्थललाई सञ्चालनमा ल्याउनेबारे छलफल

टीकापुर विमानस्थललाई सञ्चालनमा ल्याउने विषयमा सरोकारवालाबीच छलफल भएको छ । धनगढीमा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग टीकापुरका सरोकारवाला निकायले विमानस्थल सञ्चालनमा ल्याउनेबारे छलफल गरेका हुन् ।

छलफलका क्रममा मन्त्री आलेले तुरुन्त टर्मिनल टावरका लागि एक महिना भित्र टेन्डर प्रक्रिया सुरु गर्ने प्रक्रिया अगाडि बढाइने बताउनुभएको टीकापुरका धन्नजय रिमाले बताए । मन्त्रीले एक महिना भित्र रिपोर्ट लिएर टेन्डर प्रक्रिया अगाडि बढाउने भनेर आश्वस्त पार्नुभएको उनको भनाइ छ ।

उनका अनुसार मन्त्री आलेले आफू काठमाडौँ फर्के लगत्तै एक महिना भित्रै यो काम सुरु हुने गरि काम अगाडि बढाउने बताएका छन् । ‘मन्त्री आलले जसरी पनि टीकापुर विमानस्थललाई सञ्चालनमा ल्याउने बताउनुभएको छ,’ उनले भने ।

टर्मिनल भवन र टावरहरुका लागि २०÷२५ करोड रकम तुरुन्तै विनियोजन गर्न मन्त्री आलेले सरोकारवालाहरू लाई आश्वासन समेत दिएका छन् ।

छलफलका क्रममा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता एवम् काँग्रेस केन्द्रीय सदस्य डा.रणबहादुर रावल, प्रदेश सभा सदस्य उमादेवी बादी, टीकापुर नगरपालिकाका उप–प्रमुख केशरी बिष्ट, नेकपा समाजबादी कैलालीका अध्यक्ष भैरब रावल, उद्योग बाणिज्य संघ टीकापुरका पूर्व अध्यक्ष नवराज रावल, आनन्द हमाललगायत छलफलमा सहभागी थिए ।

 


१२ माघ २०७८, बुधवार २०:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु