कञ्चनपुरमा सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक
कोरोनाको संक्रमण बढ्दै गएपछि कञ्चनपुरमा कडाइ गरिएको छ। एक साताको अवधिमै भारतबाट फर्कने र जिल्लाभित्रकै गरी २५० जनाभन्दा बढीमा कोरोनाको संक्रमण देखा परेपछि स्थानीय प्रशासनले बुधवारदेखि कडाइ गरेको हो।
कोभिड १९ को संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने जुलुस, धर्ना, महोत्सव तथा सामाजिक कार्य आयोजना गर्नमा रोक लगाएको छ।
कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण जोखिमको वर्तमान अवस्थाको विश्लेषण गरी त्यसको रोकथाम, नियन्त्रण, निदानका साथै उपचार सेवालाई प्रभावकारी बनाउनका लागि कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसि), जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागु हुने गरी अर्को व्यवस्था नभएसम्म उक्त आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले जारी गरेको आदेशमा घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने, समय समयमा साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउन निर्देशन दिइएको छ।
उद्योग, व्यापार तथा व्यवसायिक गतिविधि सञ्चालन गर्दा स्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्नु पर्ने, सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, पार्क आदि)मा प्रवेश गर्दा माघ ७ गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड ९मोबाइलमा फोटो भए पनि हुने० साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गरिएको छ।
माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको पुस २६ गतेको निर्णय तथा सूचनाअनुसार विद्यालयले माघ १५ गते सम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्ने नगराउने, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेष्टरर वार्षिक परीक्षाहरु जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना हुने गरी जेड आकारमा बस्ने व्यवस्था गरी सञ्चालन गर्ने र परीक्षा केन्द्रमा स्वास्थ्यका मापदण्ड अनिवार्य गर्ने जारी आदेशमा उल्लेख गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा सबै विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कार्यतालिका बनाई यथाशीध्र कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्थाका लागि समेत आदेश जारी गरिएको छ।
औषधिलगायत अत्यावश्यक बस्तु, खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यबृद्धि गर्ने, लुकाउने, असहज आपूर्तिमा अवरोध गर्ने उपर कानुनी कारवाही हुने प्रशासनले चेतावनी दिएको छ।
२९ पुस २०७८, बिहीवार १३:१७ बजे प्रकाशित












