आइसोलेसन सेन्टर अभाव, होल्डिङ सेन्टर निर्माणमा ढिलाई
कनरी आइसोलेसन भरियो, होम आइसोलेनसमा पठाइँदै संक्रमित
धनगढी/सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्दै गएपछि संक्रमित पुष्टि भइसकेका व्यक्तिहरुको व्यवस्थापनमा चुनौती थपिएको छ । दैनिक संक्रमित थपिँदै गएपछि धनगढी उपमहानगरपालिकाको कनरीमा रहेको एक सय बेडको आइसोलेसन सेन्टर भरिएको छ ।
होल्डिङ सेन्टर सेन्टर निर्माणकै चरणमा रहेका बेला संक्रमितले कनरी आइसोलेसन सेन्टर भरिन थालेपछि उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए । उनले गौरीफन्टा नाकालगायतका ठाउँबाट संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई कनरीमा राख्ने गरिएको र आफन्तको जिम्मा लगाएर होम आइसोलेसनमा पठाइने गरिएको बताए ।
‘संक्रमितले कनरी आइसोलसन दैनिक भरिन्छ,’ उनले भने, ‘होम आइसोलेसनमा बस्न चाहनेहरुलाई उनीहरुको आफन्तको जिम्मा लगाएर समूहमा पठाइरहेका छौं । एक्लै कसैलाई जान दिएका छैनौं ।’ संस्थागत आइसोलेसनमा बस्न चाहनेहरुलाई पनि राख्ने ठाउँ नभएको उनले बताए ।
संक्रमित बढ्दै गएपछि उनीहरुलाई व्यवस्थापन गर्न दोस्रो चरणमा प्रादेशिक आयुर्वेदिक औषधालयको भवनमा आइसोलेसन सेन्टर बनाउनका लागि काम भइरहेको मन्त्रालयका प्रवक्ता कार्कीले बताए । उनले संक्रमण थप बढ्दै गयो र आइसोलेसन अभाव भएको खण्डमा गेटा मेडिकलको भवनहरुमा पनि आइसोलेसन र होल्डिङ सेन्टरका रुपमा प्रयोग गर्न सकिने बताए । गेटा मेडिकलका भवनलाई प्रयोग गर्ने विषयमा भने संघीय सरकारसंग समन्वय गर्नुपर्ने उनको भनाई छ ।
यसअघि गेटा मेडिकल कलेजमा संघीय सरकार मातहत रहने गरेर निर्माण गरिएको आइसोलेसन सेन्टर संक्रमण घट्दै गएपछि प्रयोगमा आउन सकेको थिएन । त्यहाँ अहिले पनि विजुली, पानीलगायतको समस्या छ ।
कोरोना संक्रमितको व्यवस्थापनका लागि भन्दै सरकारले कैलाली र कञ्चनपुरमा नेपाली सेनामार्फत निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम पूरा हुन सकेको छैन । कैलालीको धनगढी उपमहानगरपालिका–३ र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा निर्माणाधीन अवस्थामा रहेका एक–एक हजार मानिस राख्ने क्षमताका होल्डिङ सेन्टर निर्माणको काम पूर्ण हुन सकेको छैन । यी होल्डिङ सेन्टर नबन्दा पनि तत्काल अन्य आइसोलन र होल्डिङ सेन्टर निर्माण गर्नुपर्ने अवस्थामा रहेको प्रवक्ता कार्कीले बताए ।
अहिले धनगढीमा बनिरहेको होल्डिङमा दुईवटा ब्लक भने तयार भएका छन् । तर त्यो होल्डिङ सेन्टर कसले र कसरी प्रयोग गर्ने भन्ने कुनै निर्णय भएको छैन । ‘धनगढीमा दुईवटा ब्लक तयार भएपनि प्रयोग गर्ने विषयमा निर्णय भइसकेको छैन,’ प्रवक्ता कार्कीले भने, ‘तरपनि संक्रमित बढ्दै होल्डिङ सेन्टर प्रयोगको विषयमा संघीय सरकारसंग समन्वय गरिरहेका छौं । होल्डिङ सेन्टर निर्माणमा पनि ढिलाई भइरहेको छ ।’
सुदूरपश्चिममा पछिल्लो एक सातामा ८ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये मंगलबार मात्रै प्रदेशमा थप १ सय ९४ संक्रमित थपिएका छन् । त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७७ र गड्डाचौकी नाका भएर स्वदेश फर्केका ७१ जनामा संक्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिमका नाका भएर मंगलबार मात्रै १ हजार ४३७ नेपाली स्वदेश फर्किएका छन् । संक्रमितमध्ये गत पुस २१ गते ५५ जनामा, बिहीबार १ सय २० जनामा, शुक्रबार १ सय ५८ जनामा, शनिबार १ सय ३३ जनामा, आइतबार ६२ जनामा, सोमबार १ सय ५९ जनामा र मंगलबार १ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमितमध्ये कुनै लक्षण नभएका अधिकांशलाई होम आइसोलेसन बस्ने गरि घर पठाइने गरिएको छ । जसले गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।
२८ पुस २०७८, बुधवार १३:३२ बजे प्रकाशित












