प्रधानमन्त्री कप क्रिकेट अब टी २० फर्म्याटमा
राष्ट्रिय खेलकुद परिषद् राखेपको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघको आयोजनामा हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोयिगताको फर्म्याट परिवर्तन भएको छ ।
यो पटक प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । पुस २६ गतेदेखि आयोजना हुने प्रतियोगिताका लागि क्यानले राखेपलाई टी २० फर्म्याटमा प्रतियोगिता आयोजना गर्नका लागि अनुमति मागेको थियो ।
नेपाली टिमले ओमानमा टी २० विश्वकप छनोट खेल्ने भएकाले खेलाडीलाई अभ्यस्त बनाउन पनि यस पटकलाई क्यानले राखेपसँग टी २० प्रतियोगिता गराउन अनुरोध गरेको थियो । क्यानको अनुरोध राखेपले स्वीकार गर्दै २५ गतेदेखि हुने प्रतियोगिता टी २० फर्म्याटमा गराउन अनुमति दिएको हो ।
प्रधानमन्त्री कपमा ७ वटा प्रदेश र ३ विभागीय गरि १० टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रधानमन्त्री कपका लागि राखेपले ३७ लाख ५० हजार यसअघि नै विनियोजन गरिसकेको छ । प्रतियोगिता १ करोड ४० लाख खर्च लाग्ने क्यानका कार्यबहाक सचिव प्रशान्त मल्लले नेप्लेजलाई जानकारी दिए ।
प्रधानमन्त्री कपका लागि अहिले प्रदेशहरुले टिम घोषणा गर्न पनि थालिसकेका छन् । यस्तै अहिले नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पनि प्रतियोगिता खेल्न दिइने छ ।
२२ पुस २०७८, बिहीवार १५:४४ बजे प्रकाशित













