गाउँ सडक सञ्जालमा जोडिएपछि बाजुराको मनाबासी हर्षित
जिल्लाको बडिमालिका नगरपालिका-५ को मना गाउँका सडक सन्जालसँग जोडिएको छ। सडक सन्जालसँग जोडिएपछि त्यहाँका स्थानीयवास गाउँमै जीप चढ्न पाएपछि हर्षित भएका छन्।
पुस्तौंदेखि अहिलेसम्म मना गाउँका स्थानीय सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका थिए। नगरपालिकाले साँफे–मार्तडी लोकमार्ग अन्तर्गत पर्ने जडाङ्गाबाट झण्डै १५ किलोमिटर सडक गाउँमा पुगाएपछि स्थानीयले गाउँमै जीपको सेवा पाएका हुन्।
भीरको बाटोमा ज्यानको जोखिम मोलेर गाउँबाट सदरमुकाम मार्तडी आवतजावत गर्न बाध्य हुँदैआएका त्यहाँका स्थानीयले गाउँमै जीप सेवा पाएपछि अहिले उनीहरुको मुहारमा खुःसी छाएको छ।
जीप चढ्न घरबाट घण्टौ बाटो हिडेर बल्दे, बाम्का, बेतालमाण्डौ, रिठा बजार लगायतका काउन्टरमा टिकट लिन बाध्य भएका यहाँका स्थानीयले घर आङ्गनमा जीप सेवा पाएपछि मना गाउँवासीमा खुःसी छाएको बडिमालिका नगरपालिका ५ मनाका स्थानीय कविराज साउँद बताउँछन्।
नगरपालिकाले स्थानीयको समस्याको समाधान हुनेगरी गाउँमै यातायातका सवारी साधान जीप, ट्याक्टर सुचारु गरिदिएपछि अव भने गाउँमा उत्पादन गरेका आलु बजारसम्म लैजान सहज हुने बताईएको छ।
स्थानीयवासीको सबैभन्दा पहिलो माग सडक भएकाले गाउँपालिकाले प्रत्येक वर्ष सडकमा लगानी गर्दै आएपछि बल्ल गाउँमा जीप सुचारु गर्न सफल भइएको बडिमालिका नगरपालिका-५ मनाका वडा अध्यक्ष बलबहादुर थापाले बताए। मनामा जिप पुगेपछि बडिमालिकाका सबै वडाहरु सडक सञ्जाल जोडिएको छन्।
५ पुस २०७८, सोमवार ०९:३४ बजे प्रकाशित













