पराजित भनिएका जनप्रतिनिधि पुनः मतगणना गर्दा विजयी

महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका जनप्रतिनिधि पुनः मतगणना गर्दा विजयी भएका छन् ।उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेपछि आज मतगणना हुँदा स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेशकुमार रायको पक्षमा २६८ मत आएको हो ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका अरुणकुमार चौधरीको पक्षमा २६६ मत आएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका–१० मा वडाध्यक्ष पदका लागि पुनः मतगणना गर्ने उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्षपछि सदर गरेपछि मतगणना भएको छ ।

अदालतको ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहोर्‍याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । ०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा मनरा सिस्वा नगरपालिकामा ८ गते नतिजा प्रकाशित गरियो ।

राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेशकुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए । दुवै जनाको मत बराबर भएपछि गोलाप्रथाबाट अरुण चौधरीलाई निर्वाचित गरिएको थियो ।

निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको भन्दै रमेश रायले अदालतमा मुद्दा दिए । सोही मुद्दामा उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो ।

उच्च अदालतको यस्तो आदेशपछि चौधरी सर्वोच्चसम्म पुगेका थिए । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गर्‍यो ।त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन । अन्ततः दोहोर्‍याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो ।


७ कात्तिक २०७८, आइतवार १७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु