पहिरोले विद्यालय भवनमा क्षति, पठनपाठन अवरुद्ध

डडेल्धुरा गन्यापधुरा गाउपालिका २ मा रहेको गणेश माध्यमिक विद्यालय बडालको विद्यालय भवनमा पहिरोले क्षति गरेको छ । सुदुरपश्चिम प्रदेशमा कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको अविरल वर्षाका कारण विद्यालयका १२ वटा कक्षा कोठा र १० वटा छात्राबासका कोठाहरु पहिरोले पुरिएको विद्यालयका प्रध्यानाध्यापक सुरेन्द्र कार्कीले बताए ।

उनले भने“कोरोनाले गर्दा लामो समयपछि पठन पाठन सुरु भएको थियो, पहिरोले विद्यालयको भवन भत्काएपछि विद्यार्थीलाई पठन पाठन गराउन कक्षा कोठा नै रहेन, पढाई अवरुद्ध भयो ।”
कक्षा कोठाकालागि दुई वटा ट्रष्ट लगाएर निर्माण गरिएका भवन र दुई वटा पक्की भवनहरु निर्माण गरेको दुई तीन वर्ष मात्रै भएको उनले बताए ।

पहिरोले कक्षा कोठामा क्षति पुगेको स्थानीय उमेश देउवाले बताए । गत वर्ष बनेको भवनसँगै निर्माण गरिएका शौचालय तथा विद्यालयका फर्निचरमा समेत क्षति पुगेको छ ।विद्यालयमा करिब करोड रुपियाँभन्दा बढीको क्षति भएको विद्यालय सञ्चालकहरुको भनाई छ ।

विद्यालय संचालन गर्ने विषयमा अभिभावक भेला बोलाइएको प्रध्यानाध्यापक कार्कीले बताए ।
कार्यपालिकाको बैठक बसेर विद्यालयलाई केही सहयोग गर्न सकिने गन्यापधुरा गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत दीलिप तामाङले बताए ।


५ कात्तिक २०७८, शुक्रवार १४:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु