प्रधानमन्त्री देउवाले भने- एमसीसी हुबहु पास गर्छौं

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) हुबहु पास गर्ने बताएका छन् । बाढी र पहिरोले पुर्याएको क्षति अवलोकन तथा निरीक्षणका गर्न लागि सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले यस्तो धाराणा राखेका हुन् ।

प्रेस युनियनको आयोजनामा भएको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले एमसीसी संशोधन नहुने बताए ।एमसीसीको सम्झौतामा झुटा मुद्धा उठाइएको उनको भनाइ छ । ‘वल्ड बैंक (एडीबी)मा नेपालको कानुन लागु हुँदैन, अन्तराष्ट्रिय कानुन लागु हुन्छ,’ उनले भने, ‘एमसीसी अनुदान हो नेपालको कानुन लागु हुन्छ भनिएको छ ।’

उनीहरुले एमसीसीमा नेपालको कानुननै लाग्छ भनिसकेको भन्दै देउवाले भने, ‘अमेरिकी कानून लाग्छ भन्ने छँदैछैन । नेपालमा एउटा यस्तो तत्व छ जसले सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छ यार ।’यस्तै प्रधानमन्त्रीले देउवाले पछिल्लो वर्षापछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पुर्याएकोमा अल्पकालीन र दीर्घकालीन रहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन दिएका छन् ।

‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भएको छ,’ उनले भने, ‘पूर्वाधारहरु क्षतविक्षत छन् । बाटो छैन, विजुली छैन । किसानको धानबालीमा ठूलो क्षति भएको छ । यसको क्षतिपूर्तिका लागि राहत प्याकेज ल्याउछौं ।’

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले थपे, ‘पूर्वमा पनि यस्तै क्षति भएको छ । म त्यहाँ पनि जाँदैछु । अहिले उद्धार र राहतको काम भइरहेको छ । दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ ।’नेपाली कांग्रेसको आसन्न महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने प्रश्नमा पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन समितिलाई सबै जिम्मेबारी दिइएको भन्दै पन्छिए ।

‘निर्वाचन आयोगले भनेजस्तै हाम्रो पार्टीभित्र पनि निर्वाचन समिति छ । त्यो स्वायत्त समिति हो । उहाँहरुको निर्णय सबैले मान्ने हो । उहाँहरुले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ । सार्ने निर्णय गर्नुभयो भने सर्छ,’ उनले भने । बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री देउवा विहीबार सुदूरपश्चिम पुगेका हुन् ।


५ कात्तिक २०७८, शुक्रवार १०:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु