टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, टिपरमा आगजनी
जनकपुरधामको पीडारी चोकमा आज साँझ एक टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा आनन्द किशोर दास छन्। उनी भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी जीतेन्द्रकुमार बस्नेतकाअनुसार जनकपुरबाट ढल्केबरतर्फ जान लागेको ना।७ ख ४७४८ नम्बरको टिपरले विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।
टिपरले ठक्कर दिएपछि मोटरसाइकल टिपरको तल छिर्दा बस्नेतको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटनापश्चात आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन्।
आगजनीबाट टिपर जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। आगजनीपछि प्रहरी प्रशासनले भीडलाई नियन्त्रण गर्दै बारुण यन्त्रको सहायताले आगो निभाए पनि टिपर पूर्णरुपले क्षतिग्रस्त भएको छ।
१० असोज २०७८, आइतवार १९:५४ बजे प्रकाशित












