गौरीगंगा नगरपालिकामा पाँच दलीय गठबन्धनद्वारा तालाबन्दी
कैलालीको गौरीगंगा नगरपालिकामा पाँच दलीय संयुक्त गठबन्धनले तालाबन्दी गरेको छ । आफूूहरुले उठाएका ६ बुँदे माग सम्बोधन गर्न नगरपालिकाले कुनै तदारुकता नदेखाएको भन्दै गठबन्धनले सोमबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेको जनाएको छ ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति एवंम् गौरीगंगा नगरपालिकाका मेयरका उम्मेदवार दिनेश जोशीले अनियमित तरिकाले रोयल्टी संकलन गरेको, आवश्यकता भन्दा बढी हुनेगरि करारमा राखिएका कर्मचारीलाई सेवाबाट हटाउनुपर्ने लगायतका माग राख्दै तालाबन्दी गरिएको जानकारी दिए ।
‘आर्थिक अनियमितता र भ्रष्टारजन्य वेतिथिकाविरुद्धको आन्दोलनमा हामी छौँ,’जोशीले भने, ‘हामीले उठाएका माग सम्बोधन नभएसम्म ताला खोल्दैनौँ ।
भ्रष्टाचार विरुद्धको संयुक्त अभियान जारी राख्छौँ ।’ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।
गठबन्धनले नगरपालिकाविरुद्ध प्रदर्शन समेत गरेको थियो ।गत भदौ ५ गते पाँच वटै दलले संयुक्त गठबन्धनकातर्फबाट ज्ञापन पत्र बुझाउँदै ६ बुँदे माग अघि सारेको थियो ।
जसमा नगर शिक्षक कार्यविधि संशोधन गर्नुपर्ने, करार कर्मचारीको हकमा समिति बनाएर आवश्यकता भन्दा बढी कर्मचारीलाई हटाउनुपर्ने, रोयल्टीको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने, विद्यालयको आवश्यकताअनुसार विद्यालय व्यवस्थापन समितिको विषय शिक्षकको दरबन्दी कायम गर्नुपर्ने, लामो समयदेखि निजी स्रोतमा काम गर्दै आएका शिक्षकहरूलाई प्रक्रिया मिलाएर नियुक्त गर्नुपर्ने र नगरपालिकाको बेरुजु फच्यौट गर्नुपर्ने उल्लेख थियो ।
२८ भदौ २०७८, सोमवार १३:५६ बजे प्रकाशित












