सुदूरपश्चिम : नेकपा (एस)को संसदीय दल गठन गर्ने तयारी
दलको नेताका लागि आकांक्षी धेरै
नेकपा (एकीकृत समाजबादी)ले सुदूरपश्चिम प्रदेश सभा संसदीय दल गठन गर्ने तयारी गरेको छ । प्रदेशसभामा सबै भन्दा ठूलो दल बनेको नेकपा (एस)ले दलको मान्यता पाएसंगै संसदीय दल गठन गर्ने तयारी गरेको हो ।
संसदीय दल गठनलगायतका विषयमा छलफल गर्नका लागि सोमबार बैठक बस्ने आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेकी नेकपा (एस)की केन्द्रीय सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।
बैठक आइतबार बस्ने तयारी गरिएपनि थारु समुदायको अट्वारी पर्वले गर्दा बैठक नबोलाइएको उनले बताइन् । ‘एक पार्टीबाट फुटेर अर्को पार्टी बनिसकेपछि हामी बस्न पाएका पनि छैनौं,’ उनले भनिन्, ‘भोलि जेष्ठ सदस्यबाट बैठक बोलाएर बैठक बस्दैछौं । भोलिनै दलको नेता चयन नहुन सक्छन् तर संसदीय दल गठनका विषयमा छलफल गर्छौं ।’
बर्तमान परिस्थितिमा पार्टीलाई मिलाएर लैजान सक्ने नेतालाई संसदीय दलको नेता बनाउनुपर्ने स्थिति रहेको भन्दै मन्त्री जोशीले भनिन्, ‘दलको नेता बन्न म पनि आकांक्षी हुँला, अरु पनि होलान्, तर सहमतीमै सबैलाई मिलाएर संसदीय दल गठन हुन्छ ।’
संसदीय दलको नेताका लागि मन्त्री जोशीसहित नेकपा (एस) गठनका क्रममा सांसदहरुलाई सनाखत गराउन अन्तिमसम्म खटिएका भौतिक पूर्वाधार तथा योजना मन्त्री दीर्घ सोडारी, पूर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र संसदीय दलका पूर्व प्रमुख सचेतकसमेत रहेका सांसद तारालामा तामाङ आकांक्षी छन् ।
दलका नेताका आकांक्षीमध्ये मन्त्री जोशी र पूर्वमन्त्री भट्ट पार्टीको केन्द्रीय सदस्यसमेत हुन् । यस्तै मन्त्री सोडारी यसअघि नेकपा एमाले कैलालीका अध्यक्ष थिए भने र तामाङ कञ्चनपुरका अध्यक्ष थिए ।
पार्टी स्रोतका अनुसार संसदीय दलको नेताका लागि मन्त्री सोडारी र सांसद तामाङबीचनै प्रतिस्पर्धा हुने प्रवल सम्भावना छ ।
१४ सांसदसहित सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा (एस) संसदीय दलको नेता को बन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
एमालेका १४ जना सांसद नेकपा (एस)मा लागेपछि एमाले चौथो दलमा खुम्चिएको छ।
तत्कालीन माधव नेपाल समूहका सांसदहरु दीर्घ सोडारी, पूर्णा जोशी, माया भट्ट, तारालामा तामाङ, प्रकाश रावल, लालबहादुर खड्का, कुलवीर चौधरी, अमर बहादुर साँउद, बल बहादुर सोडारी, दुर्गा कामी, मनाकुमारी साँउद, चुनुकुमारी चौधरी, सुशिल बुढाथोकी र माया तामाङ बोहराले एमाले छाडेर समाजवादी रोजेका थिए।
२७ भदौ २०७८, आइतवार १५:३८ बजे प्रकाशित












