संस्कृति थाम्ने वरपीपल चोक

२० को दशकको सुरुवातदेखि नै महेन्द्रनगर बजारमा बस्ती बस्न थालेको थियो । सुदूरपश्चिमको पहाडी जिल्लाबाट बसाई सरी आएकाहरूले व्रत बस्ने र घरमै पूजाआजा गरेर तीज मनाउने गर्थे । चोक चौतारामा सामूहिक रूपमा भेला भएर नाचगान गर्ने चलन थिएन ।

तत्कालीन राजा महेन्द्रले योजनाबद्ध रूपमा बस्ती विकास गर्ने लक्ष्यसाथ महेन्द्रनगर र सीमा क्षेत्रमा बस्ती बसाए ।

त्यसमा तत्कालीन बर्मा (म्यान्मार) मा रहेका प्रवासी नेपालीलाई विशेष प्राथमिकतामा राखियो । उनीहरूलाई महेन्द्रनगर बजार क्षेत्रमा घडेरी र आसपासका क्षेत्रमा खेतीपातीका लागि जमिन दिएर बसाइयो । बर्माका प्रवासी नेपालीहरू आएपछि महेन्द्रनगर बजार क्षेत्रमा तीजको रौनक सुरु भएको हो ।

२०२७ तिर बर्मा (प्रवास) बाटै आएको परिवारकी कृष्णमाया पाण्डेले महेन्द्रनगर बजार छेवैमा वरपीपल रोपिन् । वरपीपल हुर्किंदै गएपछि त्यहाँ पूजाआजा हुन थाल्यो । केही वर्षपछि तीजको पूजादेखि नाचगान पनि त्यही हुन थाल्यो । २०३२ देखि तीज मनाउने प्रमुख स्थलका रूपमा चिनिएको यहाँको वरपीपल चोक संस्कृति जगाउने थलोका रूपमा चिनिएको छ । हाल तीजको पर्यायका रूपमा यो चोकलाई लिन थालिएको छ ।

हरितालिकादेखि ऋषिपञ्चमीसम्म नाचगान र पूजाआजाका लागि भीडभाड रहने वरपीपल चोक दुई वर्षदेखि सुनसान छ । चोकमै रहेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले कोरोना संक्रमणका कारण तीज मनाउन बन्द गरेका कारण यहाँ नाचगान हुन सकेन । फाटफुट रूपमा पूजापाठ गर्नेबाहेक अन्य सबै काम बन्द गरिएको छ ।

‘सुरुमा बर्माबाट बसाइँ सरी आएका परिवारका महिलाहरूले यहाँ तीज मनाउन थालेका हुन्,’ बर्माबाटै बसाइँ सरी आएका ७३ वर्षीय स्थानीय समाजसेवी होमबहादुर कुँवरले भने, ‘त्यतिबेला यहाँ तीज मनाउने ५०र६० महिला मात्रै हुन्थे ।’

कोरोना संक्रमणअघि तीज सुरु भएदेखि ऋषिपञ्चमीसम्म यहाँ नाचगान गर्ने महिलाहरूको निकै ठूलो भीड लाग्ने गरेको थियो । हजारौंको संख्यामा महिला यहाँ भेला भएर तीजमा रमाउने गरेका थिए । ‘त्यतिबेला अहिलेको जस्तो डीजे वा माइकहरू थिएनन्, महिलाहरूले आफैं गाउने आफैं नाच्ने गर्थे,’ कुँवर सम्झिन्छन्, ‘प्रवासी महिलासँगै कर्णालीपारिबाट आएकाहरू मात्रै मन्दिरमा भेला भएर नाचगान गर्थे ।’कान्तिपुरबाट

 


२६ भदौ २०७८, शनिवार १३:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु