punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकाली अस्पतालमा २२ महिने बालकको मृत्यु

Chaupati
safha napa

महाकाली अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि लापरवाही गरेको आरोप लागेको छ। जिल्लाको दोधारा–चाँदनी नगरपालिका–४ का जयसिंह ठगुन्नाका २२ महिने छोराका मृत्यु भएको हो।

साउन २४ गते साँझ निमोनियाको समस्या देखिएपछि बालकलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको थियो। महाकाली अस्पतालका स्वास्थ्यकर्मीले ‘ओभर डोज’ औषधि दिँदा बालकको मृत्यु भएको उनको परिवारजनले आरोप लगाएका छन्।

‘महेन्द्रनगरको लाइफ केयरमा रगत जाँच गर्‍यौँ। त्यहाँ केही समस्या देखिएन। तर एकरदुई दिन बाफ दिनुपर्ने भनेपछि महाकाली अस्पताल भर्ना गरेका थियौँ’ बालकका बुवा​ जयसिंहले भने, ‘अस्पताल आउँदा बच्चा बोलिरहेको थियो, सब ठीकठाक नै थियो।’

उनका अनुसार अस्पतालका नर्सले सुई लगाएपछि बालकको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो।‘राति नर्सले औषधिको एक सुई लगाए। त्यो बेला पनि केही भएन। अर्को दिन बिहान एकै पल्ट दुई सुई लगाएपछि बच्चा रुन थाल्यो। मुखबाट र्‍याल निकालेर अचेत नै भयो’ उनले भने, ‘बच्चा रुन थालेपछि हामीले सुई नलगाउन पनि भनेका थियौँ तर डाक्टरले लगाउनु भनेको छ भनेर नर्सले सुई लगाए।’

साउन २५ गते बालकको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हतार हतार अस्पतालले एम्बुलेन्समा राखेर दुई जना नर्ससँगै धनगढी पठाएको थियो।ठगुन्ना परिवारले भेन्टिलेटरको खोजीमा धनगढीका विभिन्न निजी अस्पताल चाहरे। तर दिउँसो मात्रै नवजीवन अस्पतालमा भेन्टिलेटर पाएपछि बालकलाई त्यहाँ भर्ना गरिएको थियो।

औषधिको असरले बालकको अवस्था गम्भीर मोडमा पुगेको नवजीवन अस्पतालका चिकित्सकले भनेको जयसिंह बताउँछन्।‘बालक बच्ने आशामा एक साता नवजीवन अस्पतालको भेन्टिलेटरमा उपचार गर्‍यौँ। तर भदौ १ गते उताबाट पनि फेरि महाकाली अस्पताल नै पठाइदियो’ उनले भने, ‘३र४ लाख रुपैयाँ पनि सकियो बच्चा पनि बचेन।’

महाकाली अस्पतालका चिकित्सकहरूको लापरवाहीले छोराको मृत्यु भएको भन्दै जयसिंहले घटनाको सत्य, तथ्य छानबिन गरेर चिकित्सकमाथि कारबाही गर्न माग गरेका छन्।उता महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरी कुमार श्रेष्ठले औषधिको असरले बालकको मृत्यु भएको हुन सक्ने बताएका छन्।

‘निमोनियाको औषधि चलिरहेको थियो। एक दिनमा एक र अर्को एक दिनमा दुई डोज दिनुपर्ने थियो। दोस्रो दिन सुई लगाउँदा बालकमा औषधिले केही असर गरेको देखिन्छ’ उनले भने, ‘कसै कसैलाई औषधिले रियाक्सन देखाउँछ तर कसलाई देखाउँछ, त्यो भने थाहा हुँदैन। यो घटनामा पनि यही भएको सम्भावना बढी छ।’

चिकित्सकले बिरामीको अवस्थालाई मध्यनजर गरेर आवश्यकता अनुसार औषधि दिने गरेको उनले बताए।‘औषधिको मात्राको बारेमा छानबिन भइरहेको छ। उहाँहरुले बिरामीको अवस्थालाई हेरेर आवश्यकता अनुसार डोज दिने गर्नु हुन्छ’ उनले भने।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले घटनाको छानबिनका लागि अधिकृत कृष्णानन्द जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। छानबिन टोलीले बुधबारदेखि नै काम थालेको छ।मृतक बालकको शव अहिले महाकाली अस्पतालमा राखिएको छ। घटनाको सत्य, तथ्य छानबिन नहुँदासम्म शवको पोष्टमार्टम गर्न नदिने र शव नबुझ्ने परिवारले अडान लिएको छ।

 


३ भदौ २०७८, बिहीवार १६:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु