मेसीको भावपूर्ण बिदाइ : बार्सिलोना फर्कने इच्छा
लियोनल मेसीले आइतबार बार्सिलोना क्लब र यसका समर्थकसँग भावपूर्ण बिदा लिएका छन् । मेसी पत्रकार सम्मेलनका माध्यमबाट प्रस्तुत भए र यस क्रममा आफूलाई रोक्न असफल रहे । मेसीले आँसु लुकाउन सकेनन् ।
नले भने, ‘बार्सिलोनामा बिताएका समय केही राम्रा रहे, केही नराम्रा । तर बार्सिलोनाका जनताले मलाई गरेको माया उस्तै रह्यो । मलाई विश्वास छ, कुनै दिन फेरि बार्सिलोनामा फर्कने छु र फरक भूमिकामा हुनेछु ।’
उनले पत्रकार सम्मेलनका क्रममा धेरै भन्न खोजेको तर भन्न नसकेको पनि बताए । उनले भने, ‘बार्सिलोना छाड्दै छु । तथ्यमा म अझै पनि विश्वास गर्न सकिरहेको छैन ।
तर अहिले मेरो जीवन सधैंका लागि फेरिँदैछ र यो तथ्यलाई स्वीकारेर अगाडि बढ्नु नै ठीक हुनेछ ।’ उनले बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा समर्थकमाझ बिदा लिन पाएको भए त्यो निकै सुखद् हुने पनि बताए ।
मेसीले बार्सिलोनाका लागि डेब्यु गरेको क्षणलाई सबैभन्दा सुखद् मान्दै त्यसपछिका वर्ष आफूले सपना पूरा गर्ने अवसर पाएका पनि बताए ।
उनी बार्सिलोनाका लागि सबैभन्दा बढी गोल गर्ने, सबैभन्दा बढी खेल खेल्ने, सबैभन्दा बढी उपाधि जित्ने र सबैभन्दा बढी खेल जित्ने खेलाडी हुन् । उनले बार्सिलोनाका लगि ७ सय ७८ खेल खेले र त्यसमा ६ सय ७१ गोल गरे ।
उनले अबको भविष्यलाई लिएर भने केही बोल्न चाहेनन् र सबै प्रकारको सम्भावना बाँकी रहेको पनि माने ।
२४ साउन २०७८, आइतवार १९:०० बजे प्रकाशित












