कर्णाली नदीमा बेपत्ता ५ जनाको अवस्था अझै अज्ञात, खोजी कार्य जारी
कर्णाली नदीमा जीप र डंगा दुर्घटनामा बेपता भएका पाँच जनाको अवस्था अझै अज्ञात छ। यही साउन १५ गते डुंगा दुर्घटनामा कैलालीका तीन र जीप दुर्घटनामा डडेल्धुरा घर भई डोटीमा बस्दै आएका दुई जना कर्णालीमा बेपत्ता भएका छन्।
एकै परिवारका पाँच जना सवार बा ११ च ९३८ नम्बरको जीप चिसापानीदेखि सोल्टा जाने क्रममा दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो । जीप दुर्घटनामा त्यसमा सवार तीन जनाको उद्धार गरिएको थियो भने चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवी जोशी बेपत्ता भएका थिए ।
यस्तै साउन १७ गते कर्णालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु र थप तीन जना बेपत्ता भएका थिए। मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको थियो भने तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बेपत्ता हुनेमा सोही ठाउँका २० वर्षकी उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा छन् ।प्रहरीका अनुसार सोही डुंगामा रहेका अन्य चार जना भने पौडिएर जोगिएका थिए।
उनीहरु सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गैरहेका बेला दुर्घटना भएको हो ।
बेपत्ता भएका पाँच जनाको अवस्था अझै अज्ञात भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
उनका अनुसार बेपत्ताहरुको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । नदीको बहाव उच्च भएकाले बेपत्ताको खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।
२३ साउन २०७८, शनिवार १२:२२ बजे प्रकाशित












