डोटीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु
डोटीमा एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । ११ दिनअघि भारतको गुजरातबाट काम गरी घर फर्किएका दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ घटाली गाउँका युवकको मृत्यु भएको हो ।
निज युवकको दाजुको गएको शनिबार भारतमा कोरोनाले मृत्यु भएको र घर आएपछि उनको मृत्यु भएपछि कोरोनाले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी गराए ।
जिल्ला अस्पतालका कोरोना सम्पर्क व्यक्ति तेजबहादुर शाहीले मृत्यु भएका व्यक्तिको कोरोना जाँच नगरिएको र भारतबाट घर आएर होम आइसोलेशनमा बसेका बेला मृत्यु भएको जानकारी गराए । भारतबाट आएर बिरामी हुँदा निज स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुभएन, मृत्यु भएपछि कोरोना जाँच नगर्नू भन्ने सरकारी निर्देशनअनुसार उहाँको स्वाब टेष्ट गरेनौँ ।”
कोरोनाका कारण मृत्यु भएका भनिएका युवकको सम्पर्कमा आएका व्यक्ति तथा उनको घर परिवारका सदस्यको स्वाब जाँच गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी गराए ।
सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट बढेको र मङ्गलबार राति आफ्नै घरमा उनको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।
८ वैशाख २०७८, बुधवार १४:१३ बजे प्रकाशित












