डोटीमा आगलागी घटना : छानबिनका लागि टोली परिचालन
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ मा विद्युत लाइन सर्ट हुँदा करेन्ट लागेको घटनाका विषयमा छानविन तथा मुचुल्का तयार गर्नका लागि जिल्ला प्रशासनको आदेशमा टोली पठाइएको छ ।
विद्युत् सर्ट हुनुको कारण र भएको क्षतिका बारेमा छानबिन तथा घटनाको यर्थात विवरण बुझ्नका लागि प्रहरी, प्रशासनका कर्मचारीसहितको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।
मङ्गलबार दिउँसो करिब ३.३० बजेको समयमा विद्युतको भोल्टेजमा आएको गडबढीका कारण विद्युत तार सट भई करेन्ट लागेर चार घाइते हुनुका साथै एक घर र एक गोठमा आगलागी भएको थियो । पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीका अनुसार दुर्घटनामा परी स्थानीय रत्ना विक, पार्वती बोगटी, सरस्वती बोगटी गम्भीर घाइते भएको हुन ।
घाइतेमध्ये दुईको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पताल र एकको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको उनले जानकारी गराए । विद्युतको तार लस्किएको र सो तार मर्मत गर्न गाउँ पुगेका विद्युत् कर्मचारीले ट्रान्र्फमरबाट डाइरेक्ट लाइन छोडेका कारण उक्त दुर्घटना भएको स्थानीयवासीले आरोप लगाएका छन ।
यसैगरी आगलागीका कारण स्थानीय चक्र बोगटीको घरमा रहेका लुगाकपडा र खाद्यान्न जलेर नष्ट भएका छन् भने धर्म बोगटीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराका अनुसार करेन्ट लागेर घाइते भएकाको अवस्थामा क्रमिकरुपमा सुधार आउन थालेको छ ।
१२ चैत २०७७, बिहीवार ०९:१५ बजे प्रकाशित












