भारतले कोरोना खोप निर्यात रोक्यो, नेपालले खरिद गरेकै खोप पनि नपाउने
कोरोना संक्रमण बढेपछि भारतले कोरोना बिरुद्धको खोप निर्यातमाथि रोक लगाएको छ ।
स्वदेशमै खोप आवश्यक पर्ने भन्दै भारतले निर्यातमा रोक लगाएको जनाएको छ ।
भारतको खोप निर्माता सीरम इंस्टिच्युटले बेलायत र ब्राजिलका लागि खोप निर्यातमा ढिलाई गरिरहेकै बेला भारतको यो निर्णयले विश्वका कयौं राष्ट्रहरु प्रभावित हुने भएका छन् ।
भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोप हालसम्म ७६ राष्ट्रहरुमा ६ करोड खोप उपलब्ध गराइसकेको छ ।
भारतमा एकैदिन ४७ हजार कोरोना संक्रमित हुँदा २ सय ७५ जनाको मृत्यु भएपछि भारत सरकार कोरोना नियन्त्रणको उपाय अवलम्बन तर्फ लागेको छ ।
भारतमा आगामी अप्रीलदेखि ४५ बर्ष भन्दा माथिका उमेर समुहका ब्यक्तिहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ ।
भारतको यो निर्णयसँगै नेपालले भारतबाट खरिद गरेको १० लाख डोज खोप पनि नआउने भएको छ । खोप नआउने भएपछि दोस्रो चरणको खोप कार्यक्रम प्रभावित हुने भएको छ ।
१२ चैत २०७७, बिहीवार ०८:१८ बजे प्रकाशित












