अमेरिका–इरान युद्ध दुई साताका लागि स्थगित, होर्मुज खोल्न सहमति 

काठमाडौं । अमेरिका र इरानबीच चलिरहेको युद्ध दुई साताको लागि स्थगित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेसँगै युद्ध रोकिएको हो ।

होर्मुज खोल्न वा इरानका नागरिक र पूर्वाधारहरूमा विनाशकारी आक्रमणको सामना गर्न दिएको अन्तिम समय सीमा सकिनुभन्दा दुई घण्टा अगाडि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घोषणा गरेका हुन् । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको भनाइ छ ।

ट्रम्पले युद्ध विराम सशर्त रहेको स्पष्ट गर्दै इरानले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग पुन: खोल्नुपर्ने बताएका छन् । तनाव कम गर्न उक्त जलमार्ग खुला हुनु आवश्यक रहेको उनको भनाइ छ । ‘यो दुई पक्षीय युद्ध विराम हुनेछ,’ ट्रम्पले भनेका छन्, । उनकाअनुसार इरानबाट १० बुँदे शान्ति प्रस्ताव प्राप्त भएको छ, जसलाई उनले वार्ताको व्यावहारिक आधार मानेका छन् । अधिकांश महत्त्वपूर्ण विषयमा प्रारम्भिक सहमति भइसकेको उनको दाबी छ ।

उनले इरानसँग दीर्घकालीन शान्तिका लागि निश्चित सम्झौताको नजिक पुगेको समेत बताएका छन् । ६ हप्तादेखि जारी यस युद्धमा अहिलेसम्म करिब ५ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, जसमा इरानका १ हजार ६ सय सर्वसाधारण समावेश छन् ।

 


२५ चैत २०८२, बुधवार ०७:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु