कांग्रेसले अर्को बैठकमा नियमित महाधिवेशनको कार्यतालिका ल्याउने
काठमाडौं । नेपाली कांग्रेसले अर्को बैठकमा नियमित महाधिवेशनको कार्यतालिका ल्याउने भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले आगामी केन्द्रीय समिति बैठकबाट १५ औं महाधिवेशनको कार्यतालिका ल्याउने बताएका छन् ।
महामन्त्री घिमिरेले सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै उक्त जानकारी दिएका हुन् । घिमिरेले अर्को केन्द्रीय समिति बैठकबाट महाधिवेशन कार्यतालिका ल्याइने जानकारी गराएका हुन् । उनले शुक्रबारबाट सुरु केन्द्रीय समिति बैठक सकिएपछि पुनः अर्को केन्द्रीय समिति बैठक बसेर १५ औं महाधिवेशनको कार्यतालिका ल्याउने बताए ।
साथै, घिमिरेले सभापति गगन थापालाई राजीनामा फिर्ता लिन आग्रह गरिने जानकारी पनि संचारकर्मीलाई दिए । निर्वाचनमा पराजयपछि सभापति थापाले पदबाट राजिनामा दिएका थिए । घिमिरेका अनुसार कांग्रेसको जारी बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिबारे छलफल हुनेछैन । नेपाली कांग्रेसले गत पुसमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरेको थियो
आजको बैठकमा पार्टी सभापति थापाको राजीनामाबारे छलफल र प्रतिनिधिसभा निर्वाचनबारे प्रारम्भिक समीक्षा गर्ने एजेन्डा छ । शुक्रबार (चैत ६) दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक जारी छ ।
६ चैत २०८२, शुक्रवार १५:४५ बजे प्रकाशित













