मनकामनाबाट फर्किदै गरेको गाडी दुर्घटना , ७ जना भारतीय नागरिकको मृत्यु
काठमाडौँ । गोरखाबाट मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको विद्युतीय गाडी आँबुखैरेनी नजिकै शनिबार राती दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुने सातै जना भारतीय नागरिक भएको पुष्टि भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन्।
सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र०१-००६ ख ८४३० नम्बरको इभी माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घाइतेहरुको उद्धार गरी आँबुखैरेनी अस्पतालमा उपचारका लागि पठाइएको छ ।घाइते तथा मृतकको पहिचान हुन भने बाँकी रहेको छ ।
सडकबाट करिव २०० मिटर तल माइक्रो खसेको प्रहरीले जनाएको छ। गाडीमा १५ जना सवार थिए। घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने एक गम्भीर घाइतेलाई भरतपुर रेफर गरिएको छ।
ओरालो बाटोमा गाडी तातेर ब्रेक फेल भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
३० फागुन २०८२, शनिवार २२:२१ बजे प्रकाशित













