चैतन्य पाठशालाको २५औँ वार्षिकोत्सव, रजत जयन्ती तथा अभिभावक दिवस सुरु
धनगढी। धनढीस्थित चैतन्य पाठशालाको २५औँ वार्षिकोत्सव, रजत जयन्ती तथा अभिभावक दिवस आजदेखि सुरु भएको छ। दुई दिनसम्म चल्ने उक्त कार्यक्रम शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको हो।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हेमराज पन्त रहेका थिए। कार्यक्रम चैतन्य पाठशालाका पीटीए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा विभिन्न शिक्षाविद्, राष्ट्रसेवक, पत्रकार तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै कार्यक्रममा विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले समाज परिवर्तन गर्ने जिम्मेवारी सबैको भएको बताए। “यो समाज हामीले नै बनाउने हो, त्यसैले समाज परिवर्तन गर्न सबैको भूमिका आवश्यक छ,” उनले भने।
उनले पाठशालाले हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको जानकारी दिए। सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई पाठशालाले सम्मान पनि गरेको थियो। अभिभावकहरूबाट प्राप्त माया र साथले अझ धेरै काम गर्ने हौसला मिलेको अध्यक्ष जोशीले बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले चैतन्य पाठशालाले धनगढी मात्र नभई समग्र सुदूरपश्चिम क्षेत्रको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्याएको बताए।
कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल तथा सरोकारवालाहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधि आयोजना गरिने विद्यालयले जनाएको छ।
२९ फागुन २०८२, शुक्रवार १५:२५ बजे प्रकाशित













