विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिने तयारीमा मधेसका मुख्यमन्त्री
काठमाडौँ।मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत नपाउने लगभग पक्का भएपछि राजीनामा दिने तयारी गरेका छन् । प्रदेश सभा बैठकमा आफ्नो धारणा राखेर राजीनामा घोषणा गर्ने उनको योजना रहेको बताइएको छ ।
विश्वासको मतका लागि आज बिहान ८:३० बजे बैठक बोलाइए पनि मुख्यमन्त्री यादव नै उपस्थित नहुँदा बैठक दिउँसो २ बजेसम्म स्थगित भयो । प्रदेश सभाको अंकगणितले पनि उनलाई मत नपुग्ने सङ्केत स्पष्ट छ।
१०७ सदस्यीय प्रदेश सभामा सरकारलाई बचाउन ५४ मत आवश्यक पर्छ। तर एमालेसँग सभामुखसहित २५ सांसद मात्रै छन्, जसमा एक जना निलम्बित छन्। साथमा नेपाल संघीय समाजवादी र राप्रपा (प्रतिकूल परिस्थितिमा परेकी कञ्चन बिच्छा) मात्र छन्।
उता सातदलीय गठबन्धन ७३ मतसहित एकढिक्का उभिएको छ । जसमा कांग्रेस २२, जसपा नेपाल १८, जनमत १३, माओवादी ९, लोसपा ८, एकीकृत समाजवादी ७ र नागरिक उन्मुक्ति पार्टी १ जना सांसद छन् ।
पटक–पटकको राजनीतिक विवादपछि सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन मंसिर १५ गते आदेश दिएको थियो । उक्त आदेशपछि आज बैठक बस्न लागेको हो ।
१७ मंसिर २०८२, बुधवार १३:०९ बजे प्रकाशित












