साँफे आगलागी पीडितलाई प्रदेश सरकारले ८ लाख सहयोग गर्ने

कैलाली । अछाम जिल्लाको साँफेबगर नगरपालिका–३ हाटबजारमा शनिबार राति भएको आगलागीबाट पीडितहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार मुख्यमन्त्री निवासमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले साँफेबगर नगरपालिकामार्फत आगलागी पीडितका लागि तत्काल ८ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

मुख्यमन्त्री शाहले अछामको साँफेबगरमा भएको आगलागीबाट पीडित परिवार र व्यवसायीलाई मानवीय सहायता स्वरूप तत्कालका लागि ८ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका छन् । उनले भने, “शनिबार राति साँफेबगर बजारमा भएको आगलागीबाट क्षति बेहोरेका परिवार तथा व्यवसायीलाई पालिकामार्फत मानवीय सहायता स्वरूप रकम वितरण गरिनेछ।” बैठकले सम्बन्धित नगरपालिकाले स्पष्ट मापदण्ड तयार गरी सो सहायता रकम पीडितहरूलाई वितरण गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, बैठकले २०८२ साल भदौ महिनामा दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित टिङ्कर र छाङरु क्षेत्रमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त भएका पुलहरूको तत्काल पुनर्निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ।

यस्तै, कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका तथा बेलौरी, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा वन्यजन्तुको आक्रमणबाट हुने मानवीय क्षति, बस्तीमा प्रवेश र खेतबारीमा बालीनाली नोक्सानी न्यूनीकरणका लागि रोकथाम उपाय अवलम्बन गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सिफारिस गरिएको छ।

साथै, स्थानीयस्तरमा टर्चलाइट लगायतका सुरक्षा उपकरण वितरणका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन पनि दिइएको छ।


२० कात्तिक २०८२, बिहीवार १५:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु