आन्दोलनका क्रममा सुदूरपश्चिमबाट २१ भारतिय कैदीबन्दी फरार
धनगढी। भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न कारागारबाट २१ जना भारतिय कैदीबन्दी फरार भएका थिए । ति मध्ये एक जना बाहेक अन्य फरार छन् । फरार भएका २१ जना भारतिय कैदीबन्दी मध्ये कैलाली कारागारमा एक जना मात्रै फर्केका छन् । भारतिय सहित प्रदेश भरी ६ सय १३ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् ।
भदौ २४ गतेको आन्दोलनका क्रममा कैलाली र कञ्चनपुरका कारागारबाट २१ जना भारतीय कैदी र थुनुवा समेत भागेका थिए । उनीहरूको प्रहरीले खोजी कार्यलाई तीब्र पारेको भए पनि भारततर्फ पसिसकेको आशंका गरिएको छ । फरार कैदीमध्ये लागूऔषध कारोबार, हातहतियार, चोरी र अन्य आपराधिक घटनामा सजाय भोगिरहेका तथा मुद्दा प्रक्रियामा रहेका थुनुवा समेत रहेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रमुख डम्बर बि.क का अनुसार सिमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ । साथै फरार कैदीको खोजीका लागि भारतीय सुरक्षा निकायसँग पनि समन्वय भइरहेको छ ।
आन्दोलनको अराजक वातावरणमा कुल १ हजार ४ सय ५८ जना कैदीबन्दी भाँगेका थिए । तीमध्ये ८ सय ४५ जना पुनः कारागार फर्किएका छन् भने बाँकी फरार अवस्थामै छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार फरारमध्ये केही कैदी आफैं फर्किएका हुन् भने केहीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेर कारागार पु¥याएको हो । तर, अझै ठूलो संख्यामा कैदी फरार भएकाले शान्ति सुरक्षासम्बन्धी चुनौती कायमै रहेको प्रहरीको भनाइ छ ।
कैदीबन्दीहरू भागेपछि केही समय प्रदेशभर नागरिकहरूमा सुरक्षाको त्रास बढेको थियो । तर, बिस्तारै कैदीबन्दीहरू फर्किन थालेपछि शान्ति सुरक्षा कायम हुने विश्वास गरिएको छ । प्रहरीले आम सर्वसाधारणलाई फरार कैदी वा थुनुवा देखेमा तुरुन्तै नजिकैको प्रहरी कार्यालयलाई खबर गर्न आग्रह गरेको छ ।
७ असोज २०८२, मंगलवार ०९:५५ बजे प्रकाशित












