प्रचण्डलाई बालेन्द्रको जवाफ: ‘एकादेशमा टिकटक पनि बन्द थियो’
काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र शाहले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आइतबारको टिप्पणीलाई लक्षित गर्दै प्रतिक्रिया दिएका छन्।
पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबार फेसबुकमा स्ट्याटस लेख्दै सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत भएको बताएका थिए। उनले जेन्जी पुस्ताले सोमबार गर्ने भनिएको प्रदर्शन स्वाभाविक रहेको र सरकारको भ्रष्टाचार तथा सामाजिक सञ्जालमा रोकविरुद्ध युवाहरूले आक्रोश देखाउनु उचित रहेको बताएका थिए।
यसमा प्रतिक्रिया दिँदै मेयर शाहले कमेन्टमा लेखेका छन्, ‘एकादेशमा टिकटक पनि बन्द थियो, हजुर प्रधामन्त्री हुँदा पनि म मयेर नै थिए काम हजुरबाट पनि केही भएन। मेराे लागि एक दिन दिएकाे भए म काठमाडौँका खोलानाला फेरिदिन्थे।”
यसअघि प्रचण्ड नेतृत्वको सरकारले समाजमा नकारात्मक प्रभाव पारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।
यति बेला मेयर शाहको जवाफले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ। बालेनको उक्त कमेन्टमा यो समाचार तयार पार्दासम्म करिब ५० हजार लाइक र चार हजार बढी प्रतिक्रिया आएको छ ।
२३ भदौ २०८२, सोमवार ०९:०९ बजे प्रकाशित












